भक्तपुरमा यःमरि पून्हिको अवसरमा सांस्कृतिक सम्पदा पदयात्रा

भक्तपुर – भक्तपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ऐतिहासिक सम्पदा बाहाः बहीहरुको जानकारी दिने उद्देश्यले यःमरि पून्हिको अवसरमा सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजनामा ‘बाहाः बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नाराका आज पाँचतले मन्दिर क्षेत्र टौमढीमा नगरप्रमुख सुनिल प्रजापतिले पदयात्राको उद्घाटन गर्नु भयो ।
भक्तपुरका कतिपय सम्पदामा अझै पर्यटक पुग्न नसकेका कारण स्वदेशी मात्रै नभई विभिन्न देशबाट भक्तपुर भ्रमणमा आउने पर्यटकलाई  सम्पदाको थप अवलोकन गराउने उद्देश्यले पदयात्रा आयोजना गरेका प्रमुख प्रजापतिले बताउनु भयो ।
पदयात्रा वडा नम्बर ५ टौमढीबाट सुरु भएर अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै १९ वटा बाहाः बहीहरुको परिक्रमा गरी वडा नम्बर ७ यातामा पुगेर समापन भएको थियो ।

समापन कार्यक्रममा सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताउँदै यस्ता कार्यक्रममा विश्वभरका पर्यटकलाई भक्तपुरमा आकर्षित गर्न टेवा पुग्ने बताउनु भयो।

नगरपालिकाकी उपप्रमुख रजनी जोशी, डा पुष्परत्न शाक्य, वडाध्यक्षहरु योगेन्द्रमान विजुक्छेँ र रवीन्द्र ज्याख्वालगायतले भक्तपुरको सम्पदा विश्वमा पहिचान बन्दै गएको बताउनु भयो।