६ जना महिला पत्रकारहरु साधना महिला पत्रकारिताबाट सम्मानित

११४ औं महिला दिवसको अवसरमा नेवा: पत्रकार राष्ट्रिय दबूले ६ जना महिला पत्रकारहरुलाई साधना महिला पत्रकारिताबाट सम्मान गरेको छ । काठमाडौं भृकुटीमण्डप स्थित पर्यटन बाेर्ड भवनकाे सभा कक्षमा भएकाे कार्यक्रमको प्रमुख अतिथि उप–प्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले दबूले ६ जना महिला पत्रकारहरुलाई साधना महिला पत्रकारिताबाट सम्मान गर्नु भएको हो।

कार्यक्रममा गोरखापत्र दैनिककी यलु जोशी, नेपाल समाचारपत्रकी भगवती तिमल्सिना, नेपाल टेलिभिजनकी पवन वर्षा शाह, मेट्रो एफ एमकी रिता महर्जन, नयाँ पत्रिकाकी शान्ति तामाङ र स्वतन्त्र फोटो पत्रकार सुनी बनेपालीलाई सम्मान गरिएकाे थियाे । साथै कार्यक्रममा उपप्रधानमन्त्री यादवले दबूले प्रकाशन गरेको त्रैमासिक पत्रिका ‘आज्जु’ को विमोचन गर्नु भयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उप–प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसहित ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष अमरध्वज लामा, दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, पूर्व अध्यक्ष सुरजवीर बज्राचार्य, दबूको काठमाडौं जिल्लाका उपाध्यक्ष श्रृजनमान श्रेष्ठ लगायत सल्लाहकारहरूको उपस्थिति थियो । यसवर्ष प्रदान गरेको सम्मान आठौँ संस्करणको साधना महिला पत्रकारिता सम्मान हो ।