वर्ल्ड नेवाः अर्गनाइजेशनको आयोजनामा विश्व नेपालभाषा कविता सम्मेलन शुरू

सातौं विश्व नेवार दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेशनले विश्व नेपालभाषा कविता सम्मेलनको सुभारम्भ गरेको छ। चारवटा शनिबार जुममार्फत हुने कविता सम्मेलनको शुभारम्भ श्रृंखलाको आयोजना अर्गनाइजेशनले हिजो शनिबार गरेको हो।

जनकवि दुर्गालाल श्रेष्ठको कविताबाट शुरू भएको शुभारम्भ श्रृंखलामा नेपालका डा.आनन्द जोशी, सुधीर ख्ववि, रेखा शाक्य, प्रा. नर्मदेश्वर प्रधान, ईश्वरी मैँया श्रेष्ठ, नवीन चित्रकार, वसन्त नक:मि, श्रीराम श्रेष्ठ, ज्ञानकेशरी श्रेष्ठ, राजभाई जक:मि, आर. मानन्धर , तेजकृष्ण श्रेष्ठसहित अमेरिकाबाट रीतादेवी प्रधान र बेलायतबाट हिन्दमैँया वैद्यले कविता वाचन गर्नु भएको थियो भने वाचन भएका कविताहरूको समिक्षा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ लक्ष्मी मालीले गर्नु भएको थियो।

वर्ल्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठ, उपाध्यक्ष समन्तश्री रत्न बज्राचार्य, कविता सम्मेलनका संयोजक प्रतिसरा सायमी, पत्रकार सिल्भिया राजोपाध्याय्ले कविता सम्मेलनका बारेमा बोल्नु भएको थियो।

कविता सम्मेलनका आउँदा श्रृंखलाहरू चैत २४, बैशाख १ र बैशाख ८ गते हुनेछन्।

सम्मेलनमा वाचन हुने कवितालाई विभिन्न भाषामा अनुवाद गरेर संग्रह प्रकाशित गर्ने योजना रहेको वर्ल्ड नेवाः अर्गनाइजेशनले जनाएको छ।