सातौं विश्व नेवार दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू सम्मानित

ललितपुर – विभिन्न क्षेत्रमा विशेष योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गरेर वर्ल्ड नेवाः अर्गनाइजेशनको नेपाल च्याप्टरले सातौ विश्व नेवार दिवस मनाएको छ।

नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सभाअध्यक्षता एवमं वरिष्ठ हांस्य कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ललितपुरको पाटन दरवार क्षेत्रमा भएको कार्यक्रममा  विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा वरिष्ठ भाषासेवी राजा शाक्य, वरिष्ठ साहित्यकार प्रा. सुवर्ण शाक्य , वरिष्ठ कलाकार किरण मानन्धर, शारीरिक सुगठनका खेलाडी महेश्वर महर्जन, पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान,  मानवअंग प्रत्यारोपणका विशेषज्ञ डा . पुकार चन्द्र श्रेष्ठ, व्यवसायी सुसन कर्माचार्य , पर्यटन व्यवसायी अजय स्थापित , वरिष्ठ इतिहासविद् योगेन्द्रमान श्रेष्ठ, निर्देशक पवन जोशी, गायिका निशा देसार , कलाकार भिन्तुना जोशी र  पत्रकार सुरेश किरण मानन्धरलाइ सम्मान गरिएको थियो।

कार्यक्रममा वर्ल्ड नेवा: अर्गनाइजेशन केन्द्रको संरक्षक दया रत्न शाक्यले लेख्नु भएको नेवारलोजी म्याटर्सं तथा हलिं नेवाः स्मारिकाको विमोचन पनि गरिएको थियो।

वर्ल्ड नेवाः अर्गनाइजेशनको आव्हानमा हरेक मार्च महिनाको अन्तिम शनिबार विश्व नेवार दिवस मनाउने गरिन्छ। नेवार साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तराष्ट्रियकरण गर्न यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो ।