सन्दिपले फेरि पाएनन् भिसा टी-२० विश्वकपका लागि

काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ। दूतावासले बिहीबार सन्दीपलाई अन्तर्वार्ताका लागि बोलाए पनि भिसा नदिई फर्काइदिएको हो।

यससँगै सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पनि बिहीबार नै विज्ञप्ति निकालेर सन्दीपले भिसा नपाएको जानकारी गरायो।

बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले टी-२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

सन्दीपलाई अमेरिकाको भिसा दिनुपर्ने भन्दै बुधबार काठमाडौंको माइतीघरमा केही युवाहरुले प्रदर्शन पनि गरेका थिए ।

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई विश्वकप खेलाउन पठाउने निर्णय गर्दै भिसा प्रक्रिया अघि बढाएको थियो। तर बिहीबार पनि भिसा दिन अस्वीकार गरेको क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले जानकारी दिए। टी ट्वेन्टी विश्वकप क्रिकेट आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ।