सहज जित निकाल्दै अर्जेन्टिना कोपाको फाइनलमा

साबिक च्याम्पियन अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ । आज बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले आफूभन्दा कमजोर टिम क्यानडामाथि २–० को जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो । फिफा वरीयतामा अहिले अर्जेन्टिना शीर्ष स्थानमा छ भने क्यानडा ४८औं स्थानको टिम हो । अर्जेन्टिना फाइनल प्रवेश गरेको खेलमा टिमका कप्तान लियोनल मेस्सीले पनि गोलको खाता खोले । मेस्सीले सेमिफाइनल पुग्दा बल्ल यस कोपामा पहिलो गोल गरेका हुन् । यसअघि उनले ३ खेल खेले पनि गोलको खाता खोल्न सकेका थिएनन् । तर आज मेस्सीको नाममा भाग्यको गोल आयो ।

पहिलोपटक कोपा अमेरिका खेलिरहेको क्यानडाविरुद्ध अर्जेन्टिनालाई सहज जित दिलाउने क्रममा पहिलो गोल युवा खेलाडी जुलियन अल्भारेजले २१औं मिनेटमा गोल गरेका थिए । उनले रोड्रिगो डे पाउलको पासमा सो गोल गरेका थिए । दोस्रो गोल दोस्रो हाफको सुरुआतमै आयो । ५१औं मिनेटमा कप्तान मेस्सीका नाममा सो गोल खायो । बक्स बाहिरबाट इन्जो फर्नान्डेजले प्रहार गरेको बल मेस्सीको खुट्टामा छुँदै गोलमा परिणत भएको थियो । यदि बलले मेस्सीलाई छोएको थिएन भने पनि त्यो बलले जाली चुम्ने नै थियो । र, सो गोल फर्नान्डेजका नाममा आउने थियो ।

तर पोस्टभित्र जाँदै गरेको बलले मेस्सीलाई छोएपछि छोएपछि सो गोल मेस्सीका नाममा दिइयो भने बललाई पोस्टको दिशा दिने फर्नान्डेज चाहिँ असिस्टकर्ता मात्रै बने । यस गोलमा मेस्सी भाग्यशाली रहे कि, फर्नान्डेजको प्रहारबाट आएको बल उनको नाममा दर्ता भयो । सो गोललाई भिएआर जाँचमार्फत् मान्यता दिइएको थियो । चौथो खेल खेल्ने क्रममा मेस्सीका नाममा आज पहिलो गोल आएको हो । उनले यसअघि १ गोलमा असिस्ट भने गरेका थिए । मेस्सीको गोलपछि बाँकी समयमा थप गोल नभएपछि अर्जेन्टिना २–० ले विजयी भयो ।

अब अर्जेन्टिनाले कोलम्बिया र उरुग्वे बीच हुने दोस्रो सेमिफाइनल खेल जितेर आउने टिमसँगा उपाधिाक लागि भिड्नेछ ।