काठमाडौं महानगरपालिकाले सुरु गरेको न्युरोडको फुटपाथ विस्तारलाई स्थानीयबासीले विरोध गरेका छन् । गत बुधबारदेखि पुनः सुरु गरिएको विस्तारको कामलाई स्थानीयले फेरि विरोध गरेका हुन् ।
स्थानीयबासीसँगै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन पनि विरोधमा उत्रिएका छन् । यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो । फुटपाथ विस्तारको विरोधमा सयौंको संख्यामा स्थानीयबासी उत्रिएपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी, नगरप्रहरी लगायत सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
