नेवाः देय् दबू र नेवाः मिसा दबूको संयुक्त आयोजना र कल्चरल सर्भाइभलको आर्थिक सहयोगमा नेवाः सांसदहरूसँग ‘साँस्कृतिक संंरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रम यही बिहीबार सम्पन्न भएको छ । संघीय सांसदहरूका साथै बागमती प्रदेशसभाका सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्व कानूनमन्त्री गंगाराम श्रेष्ठले नेवाः समुदायबाट मूर्त अमूर्त साँस्कृतिक सम्पदाहरू क्रमशः लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्न चर्कै पापड बेल्नु परेको तर यसमा सफलता प्राप्त भएकोले कार्यान्वनमा ल्याउनैपर्नेमा जोड दिनुभयो । यसको लागि आफ्नो तर्फबाट हरसम्भवको योगदान रहने प्रतिवद्धता पनि उहाँले प्रकट गर्नुभयो ।
बागमती प्रदेश सभा सदस्य एवम् पूर्व पर्यटन तथा संस्कृति मन्त्री शैलेन्द बज्राचार्यले उपत्यकामा जतिपनि सांस्कृतिक धरोहरहरू रहेका छन्, ती सबै रैथाने आदिवासीका कारण जीवन्त रहन सकेको तर गुठी, जात्रापर्व मनाउनका लागि आवश्यक आर्थिक स्रोत जम्मा गर्न मुश्किल पर्दै गइरहेको औंल्याउँदै त्यसैका कारण संस्कृति विस्तारै विस्तारै लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो । यसैगरी बागमती प्रदेशका पूर्व मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साँस्कृतिक रुपान्तरण नगरी नयाँ समाजको निर्माण हुन नसक्ने बताउँदै साँस्कृतकि रुपान्तरणको कुरा गर्दा नेवाः समुदायको भाषा, लिपिका साथै सबै किसिमका मूर्त र अमूर्त सम्पदाहरूलाई राष्ट्रिय साँस्कृतकि सम्पदा बनाउनुपर्नेमा जोड दिनुभयो ।
संघीय सांसाद सुशिला श्रेष्ठले नेवाः जाति कहाँ छ भनेर खोज्नुपर्ने स्थिति आउनसक्नेतर्फ खबरदारी गर्दै विभिन्न पार्टीमा आवद्ध भएपनि संस्कृति संरक्षणको सवालमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संघीय सांसद ध्रुवबहादुर प्रधानले जुन समुदायमा भएपनि भाषा, संस्कृति, संरक्षणका साथै समुदायको अधिकार स्थापनाको लागि संघर्ष गर्नु ढिला भइसकेको बताउँदै संस्कृति संरक्षणको सवालमा कुनैपनि सम्झौता गर्न नहुने बताउनुभयो ।
नेवाः देय् दबूका अध्यक्ष एवं कार्यक्रमका सभापति पवित्र बज्राचार्यले निर्णायक तहमा रहेकाहरूले कसको निम्ति विकास निर्माणका योजनाहरू ल्याउन लागेको हो, सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया नै नगरी निर्णय गर्ने प्रवृत्तीले गर्दा विभिन्न समस्याको उत्पन्न हुने गरेको बताउनुभयो । नेवाः देय् दबूका उपाध्यक्ष रश्मिला प्रजापतिले स्वागत मन्तव्य राख्ने क्रममा नेवाःदेय् दबू र नेवाः मिसा दबूले संचालन गर्दै आइरहेको अभियानबारे जानकारी दिनुहुँदै भाषा र संस्कृति पहिचान भएकोले समुदाय र जनप्रतिनिधिहरूले संयुक्त रुपमा सांस्कृतिक संरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थानकोलागि काम गर्नुपर्ने बताउनुभयो । स्वागत मन्तव्यकै क्रममा उहाँले नेपालको संविधान २०७२ र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय सरकार र प्रदेश सरकारले आ–आफ्नो क्षेत्रलाई साँस्कृतिक संरक्षण क्षेत्र घोषणा गर्नसक्ने भएकोले यसप्रति बागमती प्रदेशका सांसदहरूको ध्यानाकर्षण गराउनुभयो । नेवाः देय् दबूकै अर्का उपाध्यक्ष उमेश स्थापितले साँस्कृतिक संरक्षण क्षेत्र, नेपालभाषा, नेपाल लिपि र साँस्कृतिक पुनरुत्थान विषयक कार्यपत्र प्रस्तुत गर्दै संविधानले बहुल जाती, भाषा र संस्कृतिको संरक्षण सुनिश्चित गरेपनि संरक्षण र संवद्र्धनको सवालमा कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो । कार्यक्रम नेवाः देय् दबूका सचिव मचाराजा महर्जनले संचालन गर्नुभएको थियो ।
