काठमाडौं । आज मंगलवारदेखि काठमाडौंमा मेलम्चीको पानि आउने भएको छ । खानेपानीमन्त्री प्रदिप यादवका अनुसार आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ । गत असार ११ गते देखि मेलम्ची पानी काठमाडौं पथान्तरण गर्न बन्द गरिएको थियो । सोमवार सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सोमाबर सहमति भएको थियो ।
हेलम्बु गाउँपालिका मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज माग सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । वार्तामा भएको सहमति अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बिक्री गरेको मेलम्ची पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने छ । त्यस्तै, हेलम्बु मेलम्ची एकीकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन प्रस्ताव यथाशीघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यान्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति छ ।
