अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । संसारकै महाशक्ति देशको निर्वाचनलाई विश्वभरले उत्सुकतापूर्वक हेरिरहेको छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस तीव्र प्रतिस्पर्धामा छन् । अमेरिकाको सर्वोच्च नेतृत्वमा ह्यारिसको रूपमा पहिलो महिला र अझ एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ । ह्यारिसले चुनाव जिते अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकाको मिशिगन राज्यमा भएको एक आमसभामा मध्यपूर्वमा जारी युद्धलाई स्वीकार गर्दै आफ्नो टिप्पणीको सुरुवात गर्दै भनिन् “यो विनाशकारी छ।”
ह्यारिसले गत आइतवार मिशिगन राज्य बिश्वबिद्यालयमा राष्ट्रपतिको चुनावी अभियानको अन्तिम दौडमा मात्र दुई दिन बाँकी रहेको समयमा उनले त्यहाँ सहभागिता जनाइन ।
त्यस्तै ट्रम्प विजयी भएमा दोस्रोपटक देशको सर्वोच्च पदमा पुग्ने अवसर पाउनेछन् । अमेरिकी राष्ट्र प्रमुखलाई विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्न र विदेश नीति तय गर्न उल्लेख्य स्वतन्त्रता हुन्छ । मतदाताले देशको राष्ट्रपतिसँगै संसद सदस्यहरू पनि चयन गर्नेछन् ।
निर्वाचनको अन्तिम दिन सोमबार पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र उपराष्ट्रपति तथा डेमोक्य्राटिक उम्मेदवार कमला ह्यारिसले मतदातालाई आ–आफ्ना समापन सन्देश दिए । दुवै उम्मेदवार मुख्य ‘ब्याटलग्राउन्ड स्टेट’मा अन्तिम प्रचारमा सक्रिय देखिए । ह्यारिसले पेन्सिल्भेनियामा प्रचार गरिन् भने ट्रम्पले पेन्सिल्भेनियासहित उत्तरी क्यारोलिना र मिसिगन पुगेर आफ्नो अभियान सम्पन्न गरे । यसअघि ट्रम्पले आफ्नो गृहनगर न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा चुनावी र्याली गरे भने उपराष्ट्रपति कमला ह्यारिसले प्रमुख ‘स्विङ स्टेट’ पेन्सिलभेनियामा प्रचार अभियान तीव्र पारिन् ।
