कीर्तिपुरको मेयरमा कुन कुन पार्टीबाट को को उम्मेदवार, मंसिर १६ मा उपनिर्वाचन हुने

कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । सोमबार बसेको पार्टीको नगर कमिटी बैठकले प्राध्यापक महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसै गरि सरकारको नेतृत्व गरिरहेको एमालेले कीर्तिपुर नगरपालिकाको मेयर उम्मेदवारमा सुरेन्द्र मानन्धरलाई सिफारिस गरेको छ ।
एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन् ।कीर्तिपुरको मेयरमा एमालेले केन्द्रिय सदस्यसमेत रहेका मानन्धरलाई अगाडि सारेको हो ।

यता राष्ट्यि प्रजातन्त्र पार्टीले भने मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बनाउने भएको छ । निर्वाचन प्रचार प्रसार कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् । राप्रपाले वडा १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली कांग्रेस नगर समितिले सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मी, वडा नम्बर १ अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का श्यामकुमार अधिकारीको निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिटमा उपनिर्वाचन हुँदैछ ।