काठमाडौँ महानगरपालिकाले माइतीघरको नाम फेर्ने भएको छ । सांस्कृतिक महत्व झल्काउने गरि नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने बताएको हो । महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियान अन्तर्गत महानगरले नाम फेर्न लागेको बताएको छ ।
स्थान नाम परियोजना अन्तर्गत महानगरभित्रका सांस्कृतिक, पुरातात्वतिक र ऐतिहासिक महत्वका मौलिक नामहरु पुनःस्थापना गर्ने तयारी भएको महानगर प्रमुख बालेन्द्र शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।
उपत्यकाका नेवारी भाषी समुदायले भने माइतीघर मण्डलालाई ‘फिब्वःख्यः’ भन्ने गर्छन् । माइतीघरमा पहिले बालुवाका साना ढिस्का हुने गर्थे । बालुवाका ढिस्कालाई नेपाल भाषामा ‘फिब्व’ भनिन्छ । नजिकै भद्रकालीमा रहेको सेनाको ब्यारेकभित्र नेवार समुदायले पुजाअर्चना गर्ने ‘फिब्वः अजिमा’को मन्दिर छ । यही कारण माइतीघरलाई अजिमाको चौर भन्ने अर्थमा ‘फिब्वःख्यः’ भन्ने गरिन्छ ।
माइतीघर फिल्म निर्माणका बेला कार्यालय रहेका कारण यो ठाउँको चलनचल्तीको नाम माइतीघर रहन गएको हो ।
