पाटनको कातीप्याखँ र कातीप्याखँका कथाहरु विमोचित

ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालभाषा र नेपाली भाषामा प्रकाशित कार्तिक नाच सम्बन्धित बाल पुस्तक विमोचन गर्नुभएको छ । आफू स्वयमं आमा भएको र आफ्नो बच्चालाई सुत्नेबेला कथा सुनाउने गरेको अनुभव बताउनुहुँदै उहाँले यस पुस्तकको ठुलो महत्व रहेको बताउनुभयो ।

सँस्कृति संरक्षण र भाषा तथा लिपिको पुनरुत्थानमा यस पुस्तकको ठुलो देन हुने र ललितपुर महानगरपालिकाको सपना प्रकाशकले पुरा गरेको र चाहिने सहयोग प्रदान गर्ने आश्वासन समेत दिनु भयो । कथा वाचनको सँस्कार मासिँदै गएको र यसलाई टोलटोलमै संरक्षण गर्न वाचन, लेखन र प्रकाशन गर्दै आइरहेको गैर नाफामुलक संस्था बाखँ न्यने वाको चौथो र पाचौं प्रकाशन पाटनको कातीप्याखँ र कातीप्याखँका कथाहरु पाटन दरबार क्षेत्रको कार्तिक नाच दबलीमा प्रमुख अतिथिको रुपमा उपस्थित उपमेयर बज्राचार्यले बच्चाहरुमा यी पुस्तकहरुले राम्रो छाप छोड्ने आशा ब्यक्त गर्नुभयो ।

बौद्ध विद्वान तथा बाखँ न्यने वाका वरिष्ठ सल्लाहकार यज्ञमानपति बज्राचार्यको सभापतित्वमा पुस्तक विमोचन भएको थियो । विमोचनमा सह आयोजक कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले पुस्तकबाट कार्तिक नाच संरक्षणका लागि आफूहरुको प्रयासमा टेवा पुग्ने बताउनुभयो । विगत ३० वर्ष देखि कार्तिक नाचमा कलाकार र नाच गुरुको रुपमा संलग्न सञ्जय शर्मा राजोपाध्यायको कथा वाचनको आधारमा पुस्तक लेखन भएको बाखँ न्यने वाको सचिव रिजा जोशीले जानकारी गराउनुभयो ।

विसं २०७५ कार्तिक महिनामा भएको कथावाचनलाई लेखिका रोनिका श्रेष्ठले पाटनको कातीप्याखँ पुस्तकको रुपमा प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कातीप्याखँका कथाहरुमा संकलन तथा लेखन शितल शाक्यले गर्नुभएको थियो ।
सिद्धार्थ शाक्य र अल्सु अधिकारीको चित्रकलाबाट सुसज्जीत पुस्तकहरुको अनुवाद तथा सम्पादन सुनिता राजभण्डारीले गर्नुभएको थियो । पुस्तकको समालोचन गर्दै पाटन क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रा. डा. सुन्दर कृष्ण जोशीले यस पुस्तकको देन रहने र यस्तै पुस्तकहरुको आवश्यकता रहेको बताउनु भयो ।रञ्जना लिपि, नेपाल लिपि र देवनागरी लिपिको प्रयोगमात्र नभई सुन्दर चित्रकलाले पुस्तक आकर्षक र पढ्न प्रेरक रहेको बताउनुभयो । त्यस्तै अर्का समालोचक अक्ष्येश्वर क्याम्पसका विभागिय प्रमुख डा. नुतनधर शर्माले कार्तिक नाच नेपालभाषामा देखाइने र यस पुस्तकमा नेपाली भाषामा अनुवाद भएको हुँदा नेपालभाषा नबुझ्ने दर्शकले यो किताब पढ्नै पर्ने बताउनुभयो । किताब पढेर नाच हेर्दा छर्लंग बुझिने उहाँले बताउनुभयो ।

कार्तिक नाचको महत्व उजागर गर्न र संरक्षणमा हातेमालो होस भनेरै नाच हुने समयमै पुस्तक प्रकाशन भएको बाखँ न्यने वाका सहसचिव र पुस्तकका संयोजक विनिता मगैयाले बताउनुभयो । सँस्कृति तथा अमुर्त सम्पदा संरक्षण हुनुपर्छ भन्ने युवा इञ्जिनियर र प्राविधिकहरुको एकै स्वरको रुपमा बाखँ न्यने वा गठन भएको र निरन्तर रुपमा यस्तै कार्यक्रम गर्दै जाने र साथ तथा हौसला पाउने आशा पनि व्यक्त गर्नुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा प्रा.डा. केदारभक्त माथेमाको उपस्थिति थियो । पुस्तकमा नेपाली भाषाको लागि देवनागरी र नेपालभाषाको लागि नेपाल लिपि प्रयोग गरिएको छ भने शिर्षक रञ्जना लिपि र देवनागरीमा लेखिएको छ ।