कुलमानको गुनासोः लोडसेडिङ हुँदा खुसी हुने जमात छ

काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको साधरण सभामा बोल्दै घिसिङले विद्युत् प्राधिकरण नाफामा जाँदाभन्दा घाटामा जाँदा खुसी हुनेहरूको संख्या बढ्दै गएको टिप्पणी गरेका हुन्।

‘नेपालमा लोडसेडिङ बढ्यो भन्दा खुसी हुने, विद्युत् प्राधिकरण नाफामा जाँदा दु:खी हुने जमात बढेको छ’, घिसिङले भने, ‘नकारात्मकता फैलाउँदा खुसी हुनु राम्रो होइन।’

घिसिङले भने विगतमा २०–२२ घण्टा जनतालाई लोडसेडिङमा राखेर विद्युत् उपभोग गरेका उद्योगले विद्युत् महसुल समेत नतिरेकोमा असन्तुष्टि व्यक्त गरे ।

कार्यकारी निर्देशक कुलमान घिसिङले अब ‘नेपालमा लोडसेडिङ हुँदैन । केही समयदेखि प्राविधिक समस्या छ ” भनेका छन्।