काठमाडौं – गतः पन्ध्र वर्ष पहिले नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले नयाँ संविधानमा नेवाः क्षेत्रलाई समेटेर प्रदेश निर्माणको क्रममा नेवाः प्रदेश घोषणा गर्नुपर्ने माग गरी काठमाण्डौं, दशरथ रङ्गशालामा भएको नेवाः एकता दिवसको सम्झनामा हरेक वर्ष मनाई आएको पन्ध्रौं नेवाः एकता दिवस भोलि बुधबार प्वहेलाथ्वः नवमी (पुष २४ गते) भब्य रुपमा मनाउने भएका छन् ।
नेवाः देय् दबूको संयोजनमा नेवाः मुक्ति मोर्चा, नेपाल नेवाः राष्ट्रिय संघ समाजवादी, नेपाः राष्ट्रिय पार्टी, लोकतान्त्रिक नेवाः संघ, जनता समाजवादी नेवाः संघ, ज्यापु महागुथि नेपाः, नेवाः जागरण मञ्च, हलिं नेवाः दबू नेपाः देय् मूकवः, हलिं नेवाः गुथि, नेवाः ग्वाहालि पुचः, आदिवासी नेवाः राजनैतिक अभियान, नेवाः देय् गुथि नेपाल मण्डलका साथै तोखा स्थित विभिन्न स्थानीय समूहको संयुक्त आयोजनामा यस पन्ध्रौं नेवाः एकता दिवस आयोजना हुन लागेको हो ।
भोलि बुधबार तोखाको सरस्वती चौरमा भेला भई तोखा नगर परिक्रमा गरिसकेपछि तोखाको थःने लाछिमा हुने सभाको सभापतित्व नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले गर्नुहुने भएका छन् भने त्यसै गरी कार्यक्रममा विशेष अतिथिका रुपमा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेवाः अग्रज मल्ल के. सुन्दर, प्रदेश सांसादहरु, तोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर मुरारी तामाङ्गका साथै आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पालाई आमन्त्रण गरिएका छन् ।
त्यसैगरी, नेवाः देय् दबूका संरक्षक, सल्लाहकारहरु डा. पुष्षराज राजकर्णिकार, डा. महेशमान श्रेष्ठ, मुक्ति प्रधानका साथै विभिन्न ब्यक्तित्वहरुलाई आमन्त्रण गरिएका छन् ।
आयोजक समितिले दिएको जानकारी अनुसार, भोलि बुधबार हुने नेवाः एकता सभामा सर्वप्रथम नेपालको राष्ट्रिय गान, नेवाः राष्ट्रिय गान गाइने भएका छन् भने यसपछि शहीदहरुको सम्झनामा श्रद्धाञ्जली, त्यस पछि पानसमा बत्ती बाली नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले सभाको उद्घाटन गर्नुहुने भएको छ ।
कार्यक्रममा नेवाः एकता दिवसको अवधारणालाई लिएर मल्ल के. सुन्दरले आफ्नो मन्तब्य राख्नुहुनेछ भने संविधान संशोधनको विषयमा अवधारणा नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीका अध्यक्ष माइलाबाबु देउलाले प्रस्तुत गर्नुहुने भएका छन् ।
त्यसै गरी, कार्यक्रममा नेवाः एकताको संयुक्त प्रतिवद्धता बाचन गर्ने कार्य लोकतान्त्रिक नेवाः दबूका अध्यक्ष भगवान शाक्यले प्रस्तुत गर्नुहुने भएको छ भने कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुले आआफ्ना मन्तब्य राख्नु हुनेछ । त्यसै गरी, कार्यक्रममा तोखा घोषणा पत्रको संयुक्त वाचन नेवाः देय् दबू स्वनिगः प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले प्रस्तुत गर्नु हुनेछ ।
कार्यक्रममा नेवाः देय् दबू तोखा नगर समितिका नव सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्रममा सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद पत्र वितरण गर्ने कार्यक्रम पनि राखिएको छ । उक्त पन्ध्रौं नेवाः एकता दिवस सभाको कार्यक्रम नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोलले सञ्चालन गर्नु हुनेछ ।
