हिजो रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा ,आज फेरी काठमाडौं अदालतमा उपस्थित हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

उनी रिहा भएपनि काठमाडौं प्रहरीले पुनः पक्राउ गर्ने भएको छ । तर, सभापति लामिछानेले जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुन्छु भने पछि उनी रिहा भएका थिए।

लामिछानेविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण कास्की प्रहरीले उनलाई ती जिल्लामा पठाउने तयारी गरेको थियो साथै रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएको छ । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी लामिछानेलाई रिहा गर्न नसकिने प्रहरीको भनाई छ।

लामिछाने विरूद्ध काठमाडौंमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले आज (शुक्रबार) उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रा.स्व.पा.का कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

अदालत बाट छुटे पछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।