यु-१९ महिला विश्वकप: आफ्नो पहिलो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं- यु-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ।

नेपालले बंगलादेश यु-१९ टोलीससँग १ पटक प्रतिस्पर्धाको अवसर पाएको थियो। गत महिना मलेसियामा नै आयोजना भएको एसिया कपमा नेपाल यु-१९ र बंगलादेश एसिया कपको सुपर फोरमा आमनेसामने भएका थिए। उक्त खेलमा नेपाल यु-१९ टिम ९ विकेटले पराजित भएको थियो।

मलेसियामा शनिबारबाट सुरु हुन लागेको आइसिसी यु-१९ महिला विश्वकपमा कुल १६ टिमको सहभागिता रहेको छ।

खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सुरु हुने छ। खेलमा नेपालले महिला क्रिकेटको इतिहासमा पहिलो पटक कुनैपनि उमेर समूहमा विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो।

सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालले अन्य विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरेको भएपनि विश्वकपको महाअभियानमा भने पहिलो पटक मौका पाएको हो।

गतवर्ष युएईमा भएको विश्व कपको एसियाली क्षेत्र छनोटमा युएइलाई पछि पार्दै नेपाल डबल राउन्ड रोबिन लिगका आधारमा शीर्ष स्थानमा रहेर विश्वकपमा पुगेको थियो। पहिलो खेलमा युएईसँग पराजित नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दै विश्व कपमा स्थान बनाउँदै इतिहास रचेको नेपाल अब पुन:एकपट टेस्ट टोलीहरुमाथि धावा बोल्दै अर्को इतिहासको पर्खाइमा छ।

विश्व कपअघि एसियाको प्रतिष्ठित एसियाकप टी-२० मा प्रतिस्पर्धा गर्दा नेपालले टेस्ट टोलीविरुद्ध बलियो उपस्थिति देखाएको थियो।

अब नेपाल विश्वकपमा नयाँ लक्ष्य बनाएर मैदान उत्रिने कप्तान पुजा महतोले बताउँदै आएकी छिन्। टिमका प्रशिक्षक महेश रिजालले पनि टोलीको लक्ष्य सुपर सिक्स भएकाले टिमले सोही अनुसार प्रदर्शन गर्ने बताए।

विश्वकपमा यो पटक कुल १६ राष्ट्रलाई ४ वटा समूहमा विभाजन गरेर प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ। समूहमा स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया रहेका छन्।

प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा स्थान बनाउने भएकाले नेपाल कम्तिमा एउटा जित सहित सुपर सिक्सको संभावना बलियो बनाउने लक्ष्यमा छ। सुपर सिक्समा दुई समूह रहने छन् र हरेक समूहमा समान ६-६ टोली रहने छन्।

ग्रुप १ मा समूह ‘ए’ र समूह ‘डी’ का शीर्ष ३ देश रहँदा ग्रुप २ मा समूह ‘बी’ र समूह ‘सी’ का शीर्ष ३ राष्ट्रले स्थान बनाउने छन्। सुपर सिक्समा स्थान बनाएमा स्वभाविक रुपमा धेरै टेस्ट टोलीसँग प्रतिस्पर्धाको अवसर नेपालले पाउने छ।
सुपर सिक्सका दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

पहिलो संस्करणको आइसिसी यु १९ महिला टी-२० विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो। उक्त विश्वकपमा भारत इंग्ल्यान्डलाई हराउँदै च्याम्पियन बनेको थियो।

यस्तो छ नेपाली टोली:
सोनी पाख्रिन, किरन कुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषणा विश्वकर्मा, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत