अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनुभएको हो । उहाँनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ खुवाउनुभएको बीबीसीले जनाएको छ ।
राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।
यसअघि उहाँ सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहनुभएको थियो । उहाँ २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा हुनुभएको थियो ।
यसैबीच अमेरिकाको उपराष्ट्रपतिमा जेडी भान्सले शपथ लिनुभएको छ । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपतिहरू, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।
ट्रम्पले गरेका महत्वपूर्ण घोषणाहरू:
१.अमेरिकाको दक्षिण सिमामा नेशनल इमर्जेन्सीको घोषणा, अवैध आप्रवासीहरूलाई रोक्नका लागि सेनालाई उपस्थित गराइने ।
२. ‘रिमेन इन मेक्सिको’ नीति लागू गर्ने घोषणा
३. पक्राउ गर तथा छाड (क्याच एण्ड रिलिज) प्रथाको अन्त्य
४. क्रिमिनल कार्टेल्स घोषित हुनेछन् विदेशी आतंककारी संगठन
५. अमेरिकामा विदेशी गिरोहहरूलाई समाप्त गर्नका लागि विदेशी अधिनियम १९७८ लागू ।
६. नेशनल इनर्जी इमर्जेन्सीको घोषणा ।
७. फ्रि स्पिचका लागि अमेरिकामा सेन्सरसीपमाथि रोक ।
८. अमेरिकामा थर्ड जेन्डर समाप्त, केवल महिला तथा पुरुषमात्र हुनेछन् ।
९. कोभिडको नियम उलंघनका कारण निष्काशनमा परेका कर्मचारीहरूको पुनर्वाहली, मुआब्जा प्रदान गरिने ।
१०. गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरेर गल्फ अफ अमेरिका बनाइने घोषणा ।
११. पनामालाई फिर्ता ल्याइने ।
१२. अन्य देशलाई समृद्ध बनाउनका लागि आफ्ना नागरिकमाथि ट्याक्स लगाउनुको साटो आफ्ना नागरिकलाई समृद्ध बनाउन विदेशी देशहरूमाथि ट्यारिफ तथा ट्याक्स लगाइने।
