शोभायात्रा गरी बुद्धको आयुसंस्कार परित्याग दिवस मनाइयो

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म,सम्बोधिलाभ तथा महापरिनिर्वाण दिवसको त्रिसंयोग परेको दिन वैशाख पूर्णिमालाई विश्वका समस्त बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीको रूपमा विश्वभर मनाइन्छ । यसरी नै बुद्धको जीवनमा महत्वपूर्ण संयोग परेको दिन माघ शुक्लपूर्णिमा (सिल्लापुन्हि) पनि हो । यस दिन भगवान् बुद्धले अबको ३ महिनापछि अर्थात् वैशाख पूर्णिमाको दिन आफूले आयुसंस्कार परित्याग गर्ने अर्थात महापरिनिर्वाण हुने घोषणा गर्नुभएको कारण समस्त बौद्ध जगतले उक्त दिनलाई आयुसंस्कार परित्याग दिवसको रूपमा मनाउँदै आएको छ ।

यसै अवसरमा श्रीखण्ड तरुमूल महाविहारले आज बुद्धको मूर्तिलाई विशेष रूपले सजाइएको गाडीमा विराजमान गराई काठमाडौंको भित्रि शहरमा शोभायात्रा गराई आयुसंस्कार परित्याग दिवस मनाएको छ ।सांस्कृतिक बाजागाजाका साथ वसन्तपुरबाट शुरु भएको शोभायात्रा काष्ठमण्डप, चिकंमुगल, जैसीदेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, ह्यूमत, जैसीदेवल, कोहिति, भिमसेनस्थान, काष्ठमण्डप, प्याफल, यट्खा, नरदेवी, टेंगल, बाङ्गेमुढा, न्हाय्कंतला, असन, केलटोल, ईन्द्रचोक, मखन, हनुमानढोका हुँदै पुनः वसन्तपुर पुगेर विसर्जन भएको थियो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आयुसंस्कार परित्याग दिवस मनाउन आयोजना गरिएको शोभायात्रामा महानगरले पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । कार्यक्रममा शोभायात्राका संयोजक ई. दिल्लीरत्न शाक्यले अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो भन्ने बुद्ध वाणीलाई अहिले पनि उत्तिकै सान्दर्भिक भएको भन्दै आयुसंस्कार परित्याग दिवसको महत्वलाई जनमानसमा फिंजाउन श्रीखण्ड तरुमूल महाविहारले यस शोभायात्रालाई निरन्तरता दिने जानकारी दिए ।

गौतमबुद्धले २९ वर्षको उमेरमा गृहत्याग गर्नुभएको थियो भने ३५ वर्षको उमेरमा वैशाखपूर्णिमाको रातमा सम्बोधि लाभ (वोधिज्ञान) गर्नुभएको थियो । आज भन्दा २५०० वर्ष अघि वैशाखपूर्णिमाका दिन लुम्बिनीमा जन्मिनु भएका बुद्धले ८० वर्षको उमेरमा वैशाखपूर्णिमाकै दिन सहज महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो ।