२ सय ५९ दिन पछि भिड्दै भारत-पाकिस्तान, कस्ले मार्ला बाजी?

आइसीसी च्याम्पियन्स ट्रफि (२०२५) को बहुप्रतिक्षित खेलमा आज भारत-पाकिस्तान भिड्दै छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो २:४५ मा सुरु हुने खेल दुबै टिमका लागि दोस्रो हो।

पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग हारेको थियो। आज पाकिस्तान पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने लगभग निश्चित हुने छ।

२०१७ को च्याम्पियन्स ट्रफिमा भारत र पाकिस्तान २ पटक प्रतिस्पर्धा गरेका थिए। समूहचरणमा भारतले जितेको थियो। तर फाइनलमा भारतलाई हराएर पाकिस्तान च्याम्पियन बनेको थियो।

यी दुई टिम आइसीसी इभेन्टमा मात्र एकअर्का विरुद्ध भिड्दै आएका छन्। भारत र पाकिस्तान बिच अहले सम्म कुल १ सय ३५ एकदिवसीय खेल भएका छन्।

जसमा पाकिस्तानले ७३ खेलमा जित निकालेको छ। भारतले भने ५७ खेल जितेको छ। ५ खेल नतिजा विहीन भएका छन्। च्याम्पियन ट्रफिमा दुबै टिमबिच ५ पटक प्रतिस्पर्धा भएको छ।

जसमा पाक टिमले ३ र भारतले २ पटक जित हासिल गरेका छन्। पछिल्लो पटक यि दुइ टिम ९ जुन २०२४ को टी-२० विश्वकपमा एक अर्का विरुद्ध भिडेका थिए। एसीसी र आइसीसी इभेन्टमा भेट्दा मात्र भिड्ने भएकाले पनि भारत र पाकिस्तानको खेल बहुप्रतिक्षित मानिन्छ। भारतले २००७-०८ पछि पाकिस्तानको भ्रमण गरेको छैन्।

२००८ मा मुम्बइमा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न अस्विकार गर्दै आएको छ। त्यही भएर यो पटक प्रतियोगिता पाकिस्तानमा आयोजना भएपनि भारत नजाने अड्डी लिएपछि न्युट्रल भेन्युका रुपमा दुबइमा खेल हुँदै छ।

भारतका सबै खेल दुबइमा आयोजना हुँदै छन्। २०११ पछि यि दुई टिमबिच कुल ११ एकदिवसीय र ८ टी-२० खेलहरु भएका छन्। त्यसोत पाकिस्तानमा सन् २००९ मा श्रीलंकन टिममाथि आतंकवादी आक्रमण भएपछि धेरै टिमले पाकिस्तान भ्रमण गरेका थिएनन्।