काठमाडौं । ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोस काठमाडौँ आइपुगेका छन् । जारी नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए ।
उनले बुधबार हुने नेपाल सुपर लिगको बुधबार हुने खेल हेर्ने आयोजकले बताएका छन् । उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।
कार्लोसको उपस्थितिबाट एनएसएल मञ्चमा जोश र उत्साह छाउने अपेक्षा गरिएको छ। रोबर्टो कार्लोसको नेपाल भ्रमण नेपाली फुटबलका लागि गर्विलो क्षण हो। एनएसएलमा उनको उपस्थितिले विश्व फुटबलको नक्सामा हाम्रो लिगको पहिचान अझै उजागर हुनेछ। एनसेल एनएसएलमा कार्लोसको उपस्थिति लिगको लागि एक ठूलो उपलब्धि र देशको लागि पनि गर्वको क्षण हो।
नेपालको प्रमुख फ्रेन्चाइज-आधारित फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) ले देशभरका शीर्ष प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइरहेको छ। रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थितिसँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो सावित भएको छ।
