काठमाडौँ, नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । यसै गरि आज मछिन्द्र बहालमा पनि दिवङ्गत आमाको सम्झनामा तर्पण, दान र श्राद्ध गरी सम्झना गरिन्छ ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको गौतमले जानकारी दिनुभयो ।
आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो ।
