रातो मछिन्द्रनाथको जात्रा सुरु

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बुधबार सुरु भएको हो। दिउँसो ३ बजे पाटनको मच्छिन्द्रबाह (तःबहाल)बाट बुंगद्यःलाई पुल्चोकमा ल्याइन्छ । पुल्चोकमा पुगेपछि रातो मछिन्द्र नाथलाई जात्राको लागि तयार पारिएको रथमा राखिन्छ र रथमा राखेपछि जात्रा सुरु हुन्छ।

जात्रा सुरु भएको पहिलो रात गाःबहालमा रथलाई राखिन्छ। त्यसपछि सुन्धारामा राखिन्छ र त्यहाँबाट लगनखेलमा रथलाई रात बसाउन पुर्‍याइन्छ। रथको टुप्पोबाट नरिवल खसाल्ने जात्रा तथा अर्को दिन बिहानै महिलाले मात्रै रथ तान्ने जात्रा पनि हुने गर्छ। लगनखेलको थटीटोलबाट जावलाखेलसम्म साइत हेरेर रथ तानिन्छ। जावलाखेलमा रथ पुर्‍याएको चौथो दिन भोटो देखाएपछि बल्ल जात्रा सिद्धिन्छ ।

हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ ।