काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरुलाई मन्त्रालयबाट दिइने कुनै पनि सुविधा नदिने बताएका छन्।
शुक्रबार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरुका माग सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन्। उनले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरुलाई निर्वाह भत्तास्वरुप स्वास्थ्य मन्त्रालयको आठौँ तहसरह भत्ता दिने भनेर निर्णय गरेको र उक्त निर्णय मान्नैपर्ने बताए।
उनले चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नैपर्ने बताए। उक्त निर्णय नमान्ने हो भने राज्यसँगका कुनै पनि सम्बन्ध रहने स्थिति नहुने बताए।
उनले सम्बन्धन नै पनि खारेज हुने स्थिति आउने चेतावनी दिए। हप्तामा ७२ घण्टा काम गरे पुग्ने स्थिति बनाउन, किरिया बिदा, सरकारी बिदा दिने कुराको व्यवस्थापन गर्न पनि मन्त्रालय सकारात्मक रहेको बताए।
मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने बताए।
