काठमाण्डौ – काठमाण्डौ महानगरपालिका वडा नम्बर २४ मखनटोलमा बिहान ग्यास चुहिएर लागेको आगो झन्डै तीन घण्टापछि निभाइएको छ ।
काठमाण्डौको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक बिहान ६ बजेर ५० मिनेटको समयमा आगलागी भएको थियो । श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट शुरु भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको थियो।
घटनास्थलबाट एक महिलाको शव निकालिएको छ । काभ्रे घर भई दयाराम श्रेष्ठको घरको चौथो तलामा बस्दै आएकी ८० वर्षीया विष्णु अधिकारी मृत फेला परेकी हुन्। घरमा लागेको आगो निभाउने क्रममा उहाँको शव फेला परेको थियो।
जुद्धवारूणको दुइटा दमकल, नेपाली सेनाको एउटा, रामहिटी, ललितपुर महानगर ,श्री नम्बर १ विपद व्यवस्थापन गण सुन्दरी जल र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
