विश्वकै सबैभन्दा लामो र बढी विधामा पुरस्कार प्रदान गरिनेको रूपमा विश्व रेकर्ड राख्न प्रयासरत संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड ११४५ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको छ । बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष र डाइरेक्टर हुनु भएका संसार क्रियशन नेपालको आयोजनामा भएको उक्त अवार्ड समारोहमा बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री प्रेम महर्जन मुख्य अतिथिका रुपमा सहभागी हुनुभएको छ भने लेखक, निर्देशक र साहित्य अन्वेशक प्रकाश साय्मि, नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकारहरू रविन्द्र खड्का, धिरेन शाक्य, र सिमान्त उदास, गायिका देविका बन्दना, गीतकारहरू भूषण खरेल, बुद्ध वीर लामा, साहित्यकार विक्रम भक्त जोशी, नृत्य निर्देशक भुवन दास श्रेष्ठ लयायतका महानुभावहरू अतिथिका रूपमा सहभागी हुनुभएका छन् । उक्त नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डमा ३१ विधामा एकसय बहत्तर जनालाई अवार्ड प्रदान गरिएका छन् ।
यस अवार्ड विश्वकै सबैभन्दा लामो र बढी अवार्ड प्रदान गरिएका रूपमा विश्व रेकर्ड– गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गर्ने तयारी भईरहेको छ । यस कार्यक्रममा नेपालभाषाका गीत संगीत क्षेत्रमा जीवनभर समर्पित भई क्रियाशील रहनुभएका गायक र संगीतकार रन्त बेहोसी बज्राचार्यलाई नगद २५ हजार सहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
त्यसै गरी खस नेपाली तथा नेपालभाषाका अग्रज कलाकार पवन जोशीलाई नगद १५ हजार सहित मल्टिमिडिया स्टार अवार्ड प्रदान गरिएको तथा नेपालभाषा म्यूजिक भिडियोका पहिलो निर्देशक विजय रत्न तुलाधर असंबरेलाई सम्मान सहित अवार्ड प्रदान गरिएको छ । ललितपुर महानगर पालिका वडा नं. १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्यलाई सर्वोत्कृष्ट गीतकार अवार्ड र काठमाण्डौं महानगर पालिका वडा नं १८ का वडा अध्यक्ष न्हुच्छे काजी महर्जनलाई गीतकार विधामा जुरी अवार्ड प्रदान गरिनुका साथै बागमती सफाई अभियानका अभियन्ता तथा गीतकार बागमती भाइ (सुन्दर मान श्रेष्ठ)लाई गीतकार विधामा पिपल्स च्वाइस अवार्ड प्रदान गरिएको छ ।
विभिन्न ३१ विधामा प्रतिस्पर्धात्मक रूपमा अवार्ड प्रदान गरिएको उक्त समारोहमा अग्रज कलाकारहरू आशाकाजी थकू, कृष्णभक्त महर्जन, संगीता शाक्य, जुगल डंगोल, रामकृष्ण खड्गीलाई संसार तेज बहादुर स्मृति अवार्ड प्रदान गरिएको छ भने सरस्वती मानन्धर, बुद्ध साय्मि, रवि साय्मि, अनिल तुलाधर, सुरेन्द्र मानन्धर, निशा देसार र विश्वास बज्राचार्यलाई संसार सप्तरंगी सम्मान प्रदान गरिएको छ ।
त्यसै गरी कार्यक्रममा विशेष योगदान सम्मानका रूपमा सोहन मानन्धर, किशोर कुमार शाही, विजय मास्कि मगर, सबिना मानन्धर र रुक्साना महर्जनलाई सम्मानित गरिनुका साथै सामाजिक अभियन्ता राजाराम तण्डुकारलाई संसार फेसबुक प्रोफाइल अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रम बिराजकाजी राजोपाध्याय र प्रमिला साय्मिले सञ्चालन गर्नुभएको छ भने कार्यक्रममा ललितपुर महानगर पालिका वडा नं २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले स्वागत मन्तब्य राख्नुभएको छ ।
