स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप लिग- २ को एकदिवसीय सिरिज पछि आजबाट त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दै छ।
स्कटल्यान्डको ग्लासगौउ स्थित टिटवूडमा खेल साँझ ७:४५ बजेबाट सुरु हुनेछ। यो नेपालको १ सयौं टी- २० अन्तर्राष्ट्रिय खेलसमेत हो।
एकदिवसीय सिरिजमा दुवै खेलमा नेदरल्यान्ड्सलाई हराएको नेपाल टी- २० मा पनि आफ्नो सोही लयलाई कायम राख्न चाहन्छ। नेपाल र नेदरल्यान्ड्स टी- २० अन्तर्राष्ट्रिय आईमा अहिलेसम्म १३ पल्ट एकाअर्काविरुद्ध भिड्दा अधिकांश खेलमा नेदरल्यान्ड्स विजयी भएको छ।
अर्थात १३ मध्ये नेपालले ५ खेलमा जित निकाल्दा ७ खेल नेदरल्यान्ड्स विजयी भएको छ। एक खेल भने नतिजाविहीन भएको छ। नेपाल र नेदरल्यान्ड्स अन्तिपल्ट आइसिसी टी- २० विश्वकपमा भिडेका थिए।
अमेरिकाको डल्लासमा भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको थियो। विश्वकपमा नेपाल जितविहीन रहँदा नेदरल्यान्ड्सले भने यही मात्र एक जित निकालेको थियो।
नेपाली टिम:
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, करण केसी, ललितनरायण राजवंशी, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिलकुमार साह, बसिर अहमद, नन्दन यादव, किरण ठगुन्ना, रुपेश सिंह
