अलविदा लेखेर बेपत्ता भएका डाक्टर सकुशल भेट्टिए

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ काठमाडौँमा सकुशल फेला परेका छन्।

डा. श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका थिए। उनको अन्तिम लोकेशन चाबहिल देखिएको थियो।

उनलाई प्रहरीले तारकेश्वर ३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला पारेको हो।

काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनलाई प्रहरीको टोलीले उद्धार गरेर प्रहरी कार्यालय ल्याउँदै छ। त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले जानकारी दिए।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोबाइल स्विच अफ गरेपछि हल्लीखल्ल मच्चिएको थियो।

१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा.श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका थिए।