कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डौ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नौ महिनापछि आज बस्दैछ ।

पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकमा सङ्घीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने छन ।

गठबन्धन सरकारको प्रभावकारिता र आगामी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा.महतले जानकारी दिनुभयो ।

बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने उहाँले बताउनुभयो ।