न्यत तुलाधरहरुका गुंला बाजाको नासः पूजा सम्पन्न

गुंला पर्व नजिकै आइपुगेकाले न्यत तुलाधर गुंलाबाजं उपसमितिबाट ने.सं. ११४५ दिल्लागाः पञ्चमी, मंगलबार (२०८२ असार ३१ गते)का दिन ताहाःननि नासःद्य समक्ष नासः पुजा गर्ने कार्य भएको छ ।

न्यत तुलाधरका सदस्यहरु जम्मा भई यस प्रकारले पूजा गर्ने कार्य भएको हो भने नासः द्यःको स्थानमा नै रहेर धाःबाजा र नाय्‌खिं बाजा बजाएर द्यः ल्हाये (देव आराधना) पनि गरिएको छ । ‘द्यः ल्हाये’सकिए पछि पूजा पछि ताहाःननिमा नै बसेर धाःबाजा र नाय्‌खिं बाजा पनि बजाउने कार्य गरिएको छ । ताहाःननिमा गुंलाबाजा बजाउन सकिएपछि त्यहीँदेखि बाजा बजाएर इतुंबहाःको लकाननि (ताराननि) भई इतुंबहालमा आएर त्यहाँबाट फेरि यतखामा पुगेको हो ।

यहाँबाट फेरि न्यत पुगेर तुंछेँ गल्लीमा गएर त्यहाँबाट न्यत तुलाधरहरुको त्वाःछेँ बुरांखेलमा गएर समय् (खाजा / चमेना) ख्वाउने काम भएको छ । यसरी बाटोभरि बाजा बजाउने क्रममा नयाँ र पुरानाहरुले बाजा बजाउने गरिएको छ । वाद्यवादनको क्षेत्रमा नासःद्य समक्ष निकै आस्था राखी भावभक्तिपूर्वक पूजा गर्ने नेवार परम्परा रही आएको छ ।

यसरी नासःद्यः समक्ष भावभक्ति राखिएमा वाद्य वादनमा हिसीले भरिपूर्ण भई सिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास रही आएको पाइन्छ । स्मरणीय छ, ने.सं ११४५ दिल्लाथ्वः खस्थि, मंगलबार (२०८२ असार २७ गते)देखि गुंलाबाजा सिकाउने कार्य शुरु गरिएको छ । न्यत तुलाधरका परिवारका छोराछोरी लगायतलाई बाज सिकाइएको छ ।