आजभन्दा पैंतालीस वर्ष अघि काठमाण्डौंको प्रख्यात केशचन्द्र महाविहार इतुंबहालबाट चोरेर लगिएको ऐतिहासिक तीन वटा पौभाः चित्र अस्ति शनिबार इतुंबहालमा नै फिर्ता ल्याइएको छ ।
पैंतालीस वर्ष अघि इतुंबहालबाट यस पौभाः चित्र चोरी गरिएको हो भने यस पौभाः चित्र अमेरिकाको संग्रहालयमा भेटिएको हो । केशचन्द्र महाविशार संरक्षण समाजको सक्रियता र अमेरिकामा बसोबास गर्दै आउनु भएका नेवारहरुको प्रयासमा आजभन्दा तीन महिना अघि उक्त पौभाः चित्र नेपालमा फिर्ता ल्याउन सफल भएको हो ।
यसरी तीन महिना पछि पुरातत्त्व विभागले सबै किसिमका कानूनी प्रक्रिया पूरा गरी अस्ति शनिबार छाउनीको संग्रहालयमा एक कार्यक्रमको आयोजना गरी उक्त पौभाः चित्र संरक्षण समाजका पदाधिकारीहरुलाई जिम्मा दिई फिर्ता दिइएको हो ।
इतुंबहालमा पहिला जस्तो थियो त्यस्तै गरी राख्ने हेतुले पुरातत्त्व विभागले आयोजित पौभाः फिर्ता गर्ने कार्यक्रममा मुख्य अतिथिको रुपमा उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री प्रकाश मान सिंह सहभागी हुनुभएको छ भने वहाँकै हातबाट संरक्षण समाजका अध्यक्ष प्रज्ञा रत्न शाक्य सहितका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।
पुरातत्त्व विभागले कानूनी रुपमा लिखित रुपमा कागज गरी हस्तान्तरण गरिएको उक्त पौभाः चित्रमा गगन सिंह भारो र वहाँको धर्मपत्नी अंकित गरिएको तथा चिन्तामणि लोकेश्वर र तारा देवी अंकित गरिएको साथै केशचन्द्रका पत्नी सहित चार भैरब लेखिएको छ ।
