नेपाल भाषाको चलचित्र क्षेत्रमा पृथक कथा बोकेको सांगीतिक चलचित्र प्रदर्शनमा आउने भएको छ । घिङ्गताङ्ग दाफा समाजको प्रकाशनको रुपमा ‘जयश्री हारति मां’ नामको सुटिङ्ग सकिएर आजभोलि अन्तिम चरणको सम्पादन कार्य भइरहेको यस चलचित्र चाँडै नै प्रदर्शनमा आउने जानकारी चलचित्रका लेखक तथा निर्देशक दर्शन वीर शाक्य दिनु भयो।
यस भन्दा अघि लुति अजिमाको कथाको आधारमा ‘इन्द्रायणी’ लघु चलचित्र बनाई विविध पुरस्कार समेत जित्नु भएका निर्देशक शाक्यको यस ‘जयश्री हारति मां’ चलचित्र दाफागीतमा आधारित चलचित्र अर्थात सांगीतिक चलचित्रको रुपमा आउन लागेको हो ।
चलचित्रमा कलाकार प्रेमा शाक्यले हारति अजिमाकी भूमिका निर्वाह गर्नुभएकी छिन् । साथै हास्य सम्राट मदनकृष्ण श्रेष्ठका साथै सुजन बज्राचार्य, रोजिना सुवाल, सुजिना शाही, किशोर चिपालु, रबिना तुलाधर, नविन थेच्वमि, बिपश्यना शाक्य, देशना शाक्य, सुजना बज्राचार्य, सिताराम माकः, जीवन त्वाति, उजय शाही, विक्रम खड्गी लगायतका कलाकारहरुले विभिन्न भूमिकामा अभिनय गर्नुभएका छन् ।
दिपेन्द्र बज्राचार्य र शरद डंगोलको परिकल्पना, छायाँकार तथा सम्पादन मनोज रत्न शाही रहनु भएको यस चलचित्रका निर्माता शारदा डंगोल हुनुहुन्छ ।
देशको परिस्थिति र आवश्यकताका आधारमा परम्परागत रूपमा सिर्जना हुँदै आएको शास्त्रीय राग, परम्परागत बाजाको ताल र शब्दहरूको संयोजन नै दाफा हो । दाफामा मूल रूपमा प्रयोग गरिने बाजाहरू खिं, ताः, झ्याली र पोङ्गाको तालमा समूहमा बसेर पालैपालो भजन गाउनु दाफाको प्रमुख विशेषता हो । यस सांगीतिक चलचित्र ‘जयश्री हारति मां’ ले नयाँ पुस्तालाई दाफा संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराउने प्रयास गरेको हेर्न सकिने छ ।
