काठमाडौँ महानगरपालिका-२३ द्वारा शुक्रबार आयोजित गतः शुक्रबार हनुमानढोकामा भएको उक्त कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डङ्गोल, पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गलगायतले सो पुस्तक लोकार्पण गर्नुभएको हो।
कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक प्रधानाङ्ङ्गले नेपालकै राष्ट्रिय पर्व इन्द्रजात्रामा अभ्यास गरिने परम्परालाई सो पुस्तकको माध्यमबाट पुस्तान्तरण गर्न पाएको बताउनुभयो। उहाँ यस पुस्तकको पहिलो खण्डमा इन्द्रजात्राबारे विस्तृत रूपमा लेखिएको तथा इन्द्रजात्राको समयमा गरिने र लोपसमेत भइसकेका गतिविधि, परम्पराबारे पनि अध्ययन गरी लोप भएका परम्परालाई फेरि सम्झाउने, ब्यूँताउने कामसमेत भएको बताउनुभयो ।
यसै गरि महानगर वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले वडाका सबै मूर्त/अमूर्त सम्पदाको अभिलेखीकरण गर्दै जाने क्रममा प्रख्यात जात्रा इन्द्रजात्राबारे सो पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि वडाका सबै सम्पदाको यसै गरी अभिलेख राख्ने क्रियाकलाप अगाडि बढाउँदै जाने बताउनुभयो । नेवाः नुगः का अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले जीवन्त मूर्त. अमूर्त सम्पदा इन्द्रजात्राबारे यस पुस्तकले अभिलेख राख्न सफल भएको बताउनुभयो।
साथै नेवाः नुगःया अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले “यस अभिलेखिकरण दस्तावेज काठमाडौं महानगरपालिका वडा नं. २३ सँगको सहकार्य गर्दै हाम्रो सांस्कृतिक सम्पदा प्रतिको गहिरो लगाव, प्रेम र संरक्षणको प्रतिबद्वताबाट जन्मेको र अभिलेखिकरण दस्तावेजमा इन्द्रजात्रा, श्रीकुमारी, श्रीगणेश, श्रीभैरव, गुरुज्यूको पल्टन गरी १९ तत्वबारे अभिलेखीकरण गरेका छौँ ” भनेर बताउनु भयो।
इन्द्रजात्रासम्बद्ध सम्पदाहरूको वर्गीकृत सूची, अन्यत्र नसमेटिएका केही पक्षहरू तथा इन्द्रजात्राका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरू, इन्द्रजात्रामा प्रदर्शनमा नभएका मूर्त सम्पदाहरूको अभिलेखीकरण गर्दै तयार गरिएको यस पुस्तक पुस्तक मात्र होइन, यो जीवन्त अभिलेख हो । जसलाई हामीले अन्तर्राष्ट्रिय अभ्यास र ढाँचामा सङ्कलन तथा अभिलेखीकरण गरेका छौँ भनी श्रेष्ठले थप उजागर गर्नुभयो।
