नेपाल भाषाको चलचित्र क्षेत्रमा पृथक कथा बोकेको सांगीतिक चलचित्र ‘जयश्री हारति मां’ चलचित्रको प्रदर्शन गरिएको छ । सांगीतिक चलचित्रको रुपमा निर्माण गरिएको यस चलचित्र ने.सं.११४५ कौलाथ्वः तृतिया, बिहीबार (असोज ९ गते) साँझ ६ बजे सार्वजनिकरण गरिएको हो । यस चलचित्रका लेखक तथा निर्देशक दर्शनवीर शाक्य हुनुहुन्छ ।
यस ‘जय हारति मां’ चलचित्रले दाफा गीत सांगीतिक चलचित्रको रूप दिने कार्य गरिएको छ । घिङ्गताङ्ग दाफा समाजको प्रस्तुतिको रुपमा प्रदर्शन गरिएको यस चलचित्रमा कलाकार प्रेमा शाक्यले हारति अजिमाको भूमिका निभाउनु भएकी छिन् । यस चलचित्र सार्वजनीकरण कार्यक्रममा चलचित्रको दाफा समाजका अध्यक्ष एवं निर्माता शारदा डंगोलले हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई दोसल्ला ओढाउनु भई सम्मान पत्र अर्पन गर्नुभई सम्मान गर्नुभएकी छिन् । यसैगरी कार्यक्रममा त्यंगः त्वाः खलःका अध्यक्ष धन बहादुर महर्जन ‘तिमिला’लाई खादा ओढाई सम्मान पत्र अर्पन गरी सम्मानित पनि गरिएको छ । यस कार्यक्रममा प्रकाश साय्मिले यस चलचित्रका बारेमा आफ्नो संक्षिप्त मन्तब्य पनि राख्नुभएको छ ।
चलचित्रमा कलाकार प्रेमा शाक्यले हारति अजिमाकी भूमिका निर्वाह गर्नुभएकी छिन् । साथै हास्य सम्राट मदनकृष्ण श्रेष्ठका साथै सुजन बज्राचार्य, रोजिना सुवाल, सुजिना शाही, किशोर चिपालु, रबिना तुलाधर, नविन थेच्वमि, बिपश्यना शाक्य, देशना शाक्य, सुजना बज्राचार्य, सिताराम माकः, जीवन त्वाति, उजय शाही, विक्रम खड्गी लगायतका कलाकारहरुले विभिन्न भूमिकामा अभिनय गर्नुभएका छन् । दिपेन्द्र बज्राचार्य र शरद डंगोलको परिकल्पना, छायांकन तथा सम्पादान मनोज रत्न शाहीले गर्नुभएको यस चलचित्रको निर्माता शारदा डंगोल हुनुहुन्छ ।
दाफा संगीतको प्रयोग गरी निर्माण गरिएको यस सांगीतिक डकुमेन्ट्री चलचित्र बालबालिकाहरुका देवीको रुपमा मान्दै आइरहेका मां हारतिको लोक कथामा आधारित छ । भक्ति गीतको रुपमा गाउँदै आइरहेको दाफा नेवार संस्कृति धेरै ठाउँमा लोप भई अस्तित्व विहीन भइसकेको कुरालाई मध्यनजर राखी यसलाई संरक्षण गर्न तथा नयाँ पुस्तालाई यस बारे जानकारी दिने लक्ष्य राखी यस चलचित्र निर्माण गरिएको हो ।
यस चलचित्रमा दाफा भजन गाउनु हुने गायक गायिकाहरुमा दीपेन्द्र बज्राचार्य, त्रिरत्न मानन्धर, रमेश डंगोल, विनय महर्जन तथा पुष्षा पलाञ्चोके, बबिता बज्राचार्य, मीना प्रजापति, सिल्भिया प्रजापति लयायतका हुनुहुन्छ । यसै गरी चलचित्रमा बाजा तर्फ खिं बजाउनु हुनेहरुमा श्रद्धा डंगोल र रमेश डंगोल हुनुहुन्छ भने पोङ्गा बजाउनु हुने राकेश महर्जन हुनुहुन्छ । त्यसै गरी बेस गीतारमा रिजु तुलाधर, आर्कष्टिक गीतारमा फिरोज बज्राचार्य, अनि ताः, तिंछु, बाबुचामा श्रीरत्न महर्जन हुनुहुन्छ । यस दाफाको रिकर्डिष्ट विनय महर्जन र मिक्सिङ्ग तथा मास्टरिङ्ग फिरोज बज्राचार्य हुनुहुन्छ ।
लगभग ५२ मिनेटको यस चलचित्र नेपालभाषा क्षेत्रमा एक नयाँ प्रयासको रुपमा प्रस्तुत भएको छ । हाम्रो मौलिक नेवार दाफा संगीतको आधारमा यस सांगीतिक चलचित्र तयार भएको हो ।
खास गरी दाफा भजन संगीत शास्त्रीय राग र तालमा आधारित छ । दाफालाई प्राचीन संगीत परम्पराको रुपमा लिने गरिएको छ । दाफा खलःका सदस्यहरु सामूहिक रुपमा बसेर गाउने गरिन्छ । दाफा भजनलाई नेपालकै सबैभन्दा पुरानो जीवित भक्तिमूलक संगीतको रुपमा लिने गरिएको छ । दाफा विविध मेला, महोत्सव र पर्वहरुमा गाउने गरिएको छ ।
स्मरणीय छ, निर्देशक दर्शन वीर शाक्यले यस भन्दा अघि लुति अजिमाको कथामा आधारित ‘इन्द्रायणी’ लघु चलचित्र निर्माण गर्नुभई विविध पुरस्कार समेत लिइसक्नु भएको छ ।
