संसद् पुनर्स्थापना हुनुपर्छ- केपी ओली

काठमाडौँ । नेकपा एमालेले जेनजी विद्रोहपछिको परिवर्तनलाई नस्वीकार्ने प्रस्ट संकेत गरेको छ । यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुबाट गर्जनभावका साथ दिएका हुन् ।

जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको सुरक्षामा केही दिन बसेपछि भक्तपुरको गुण्डु सरेका ओलीले झण्डै एक महिनापछि जेनजी विद्रोहपछिको परिवर्तन नस्वीकार्ने उद्घोष गरेका हुन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले अहिलेको संसद् विघटन असंवैधानिक, गैरकानुनी र अलोकतान्त्रिक भएको दाबी गर्दै यसको पुनर्बहालीका लागि अब प्रतीक्षा होइन, प्रतिवादको समय आएको बताए ।

साथै ओलीले नेपाली कांग्रेस समेत संसद पुनर्स्थापनाको पक्षमा आउने विश्वास गर्दै समयमा कदम नचालेपछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने अवस्था आउने बताए ।

उनले देशमा संविधान, संसद् र लोकतन्त्र मेट्न खोज्ने प्रयासलाई कसै पनि सहन नहुने भन्दै जनतालाई सतर्क रहन आग्रह गरे। ’हामी संविधान मासिन, संसद् मासिन दिन्नौँ,’ उनले भने, ’देशको रक्षा गर्न नागरिक स्वयं तयार हुनुपर्छ।’

उनले जेनजी आन्दोलनका केही मागहरूलाई उचित ठहर गर्दै पनि भदौ २३ र २४ गतेका हिंसात्मक घटना योजनाबद्ध रूपमा गराइएको आरोप लगाए। ’गोलीकाण्ड, आगजनी र तोडफोड देश अस्थिर बनाउने षड्यन्त्र थियो,’ ओलीले भने।