बाइसौं गैह्र आवासीय नेपाली दिवसको क्रममा स्वयम्भू भगवानको दर्शन र पूजा गरी स्वयम्भूमा सवा लाख बत्ती बाल्ने कार्य ने.सं. ११४५ कौलागाः पञ्चमी, शनिबार (२०८२ असोज २५ गते) सम्पन्न भएको छ । एनआरएनका सबैलाई स्वयम्भू विकास मण्डलका तर्फबाट मण्डलका उपाध्यक्ष लगायत सदस्यहरुले खादा ओढाई स्वागत गरिएको थियो ।
एनआरएनका उपाध्यक्ष राम शरण सिंखडाले एक संक्षिप्त समारोहको पनि आयोजना गरिएको र उक्त समारोहमा एनआरएनका अध्यक्ष डा. बद्रि केसी, संस्थाका संस्थापक अध्यक्ष मीन उदास र स्वयम्भू विकास मण्डलका उपाध्यक्ष जुजुभाइ तुलाधरले आआफ्ना मन्तब्य राख्नुभएका छन् । एनआरएनका अध्यक्षहरुले एनआरएनका विषयमा र मण्डलका उपाध्यक्ष तुलाधरले एनआरएनलाई स्वागत गर्न पाउँदा खुशी भएको र बुद्ध जन्म भएको देशमा यसरी स्वयम्भूमा कार्यक्रम भएको ज्यादै खुशी लागेको कुरा बताउनु बताउनु भयो ।
उक्त सवा लाख बत्ती बाल्ने क्रममा स्वयम्भूका सुलिन्द्र बज्राचार्यले बत्ती बाल्ने कार्यको संकल्प गर्नुभएको थियो । एनआरएनका सदस्यहरु सबैले स्वयम्भू परिक्रमा पनि गर्नुभएका थिए । विदेशमा रहनु भएका नेपाली नागरिकहरुले आफ्नो मातृ भूमिलाई सम्झेर नेपाल आई यस प्रकारको धार्मिक कार्य गर्दै आउनुभएका छन् ।
गैह्र आवासीय नेपाली दिवसको प्राथमिक उद्देश्य सरकार र नेपाली डायस्पोरा बीच सहकार्य बढाउने कार्य हो भनी लिने गरिएका छन् । यसले एनआरएनलाई नेपाल सामाजिक रुपमा, सांस्कृतिक र आर्थिक रुपमा नेपालसँग आफ्नो आत्मीयता विकसित गर्न टेवा पुग्ने देखिन्छ । गैह्र आवासीय नेपालीहरुको भूमिका भनेको गैह्र निवासी नेपालीहरुले नेपालको अर्थतन्त्र र समाजलाई उल्लेखनीय योगदान गर्नु हो भनी लिने गरिएको छ ।
