मैत्रीपूर्ण खेलमा भारतविरुद्ध भिड्दै नेपाल

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्दै छ। त्रिदेशीय मैत्रीपूर्ण खेलमा नेपाल यसअघि इरानसँग पराजित भएको थियो। इरान विरुद्ध पहिलो हाफमा समालिएको प्रदर्शन गरे पनि दोस्रो हाफमा नेपाल केही मिनेटमै ३ गोल खान पुग्दा फराकिलो अन्तरले पराजित भएको थियो।

सोमबार शिलोङको जवाहरलाल नेहरू रंगशालामा साँझ ६:१५ बजे सुरु हुने खेलमा भारतविरुद्ध नेपाल जित निकाल्दै खेलमा आफ्नो दक्षिण एसियाको बलियो छविलाई कायम राख्ने प्रयास गर्ने छ।

प्रशिक्षक नवीन न्यौपानेले टोलीको रक्षात्मक अवस्थालाई सुधार गर्नुपर्ने बताउँदा फिनिसिङमा पनि नेपाल चुकेको स्विकारेका थिए। त्यसैले भारत विरुद्ध त्यस्तो गल्ति नदोहोर्याउने उनले बताए।

उनले भारतविरुद्धको खेल सधैं चुनौतीपूर्ण हुने भन्दै योजनाबद्ध रूपमा प्रतिस्पर्धा गरेर नतिजा आफ्नो पक्षमा पार्न सक्ने विश्वास ब्यक्त गरे। उनले पुरै समय सन्तुलित र नतिजाका लागि प्रतिस्पर्धा गर्ने बताए।

अहिलेसम्म नेपाल र भारतबीच महिला फुटबलमा १८ पटक प्रतिस्पर्धा भइसकेको छ। तर, नेपाल जितविहीन रहँदै आएको छ। नेपालले २ खेल मात्रै आफ्नो पक्षमा पार्दा पछिल्लो समय भने नेपालले भारतलाई टक्कर दिंदै आएको छ।

२०१९ को दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) को फाइनलमा भारतसँग ३-१ ले हारेयता भने नेपालले भारतलाई जित्न दिएको छैन्।

नेपालले भारत विरुद्ध पहिलो पटक २०२२ को साफको सेमिफाइनलमा पहिलो जित हात पारेको थियो। उक्त खेलमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो। तर नेपाल फाइनलमा भने बंगलादेश सँग स्तब्ध बनेको थियो।

त्यसको दुई वर्षपछि घरेलु मैदान नेपाल र भारत बिच अर्को प्रतिस्पर्धा भयो। जहाँ विवाद विच नेपालले भारतलाई सेमिफाइनलमा हराएको थियो।

भारतका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले पनि यो खेललाई जित्नु पर्ने खेलका रुपमा लिएका छन्। भारतपनि इरानसँग २-० ले पराजित भएपछि उनले आजको खेलमा केही युवा खेलाडीलाई मौका दिने योजना बनाएका छन्। तीमध्ये मिडफिल्डर जुलन नोंगमैथेम मुख्य हुन्। उनले आफ्नो कप्तानीमा यू-१७ टोलीलाई एएफसी महिला एसियन कपमा पुर्या्एकी थिइन्। तर, स्टार फरवार्ड मनिषा कल्याण विरामी हुँदा उनी टोलीमा हुने छैनन्।

छेत्रीले इरानविरुद्ध खेलको नियन्त्रण गुमाउँदा पराजय भोगेको बताएका थिए। उनले नेपाल फरक प्रकारको टोली भएको भन्दै बल पोसेसनमा सुधार गरेर छरितो पासका साथमा आफ्नो सानदार लय कायम राख्दै जित निकाल्ने विश्वास ब्यक्त गरे। उनले नेपाली फर्वाड सावित्रा भण्डारीबाट सचेत हुनु पर्ने भन्दै अहिलेसम्म भारतविरुद्ध भएका १२ मध्ये ८ गोल सावित्रा एक्लै गरेको सम्झिएका थिए।

नेपालले आज भारतलाई हराउन सकेमा नेपालका लागि दक्षिण एसियामा पुन एकपटक बलियो रहेको सन्देश जान सक्ने छ। पराजित भएमा भने भारतले पछिल्ला दुई हारको बदला लिंदै आफ्नो आत्माविश्वास फर्काउने छ।