पहिरोका कारण कोशी प्रदेशका ठाउँ ठाउँमा सडक अवरुद्ध

विराटनगर । बिहीबार साँझबाट सुरु भएको निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । निरन्तरको वर्षाका कारण पहिरो खस्दा मुख्य राजमार्ग तथा भित्री सडकहरू अवरुद्ध भएका हुन् ।

मेची राजमार्गको इलाम खण्डमा ठाउँ–ठाउँमा पहिरो खस्नुका साथै सडक दबिँदा सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार मेची राजमार्गको राजदुवाली क्षेत्रमा पहिरोका कारण नयाँ ट्र्याक भासिने क्रम बढेको छ । यस्तै, वैकल्पिक रूपमा प्रयोग गरिएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो खसेको छ ।

बाढी र पहिरोको जोखिम उच्च बढेपछि इलाम प्रशासनले बिहीबार साँझदेखि यो सडक खण्डमा सवारी आवागमन बन्द गराएको थियो । रातभरको वर्षाले सडकमा थप क्षति पुगेकाले अहिले सवारी आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । यस अघि पनि इलाममा वर्षापछि खसेको पहिरोका कारण लामो समय यातायात अवरुद्ध भएको थियो ।

यसैगरी, सुनसरीको धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव अत्यधिक बढेका कारण सवारी आवागमन ठप्प भएको हो ।