काठमाडौं । सोमबार साँझ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले अधिकारीहरूले आगामी तीन दिनका लागि ऐतिहासिक लाल किल्ला आगन्तुकका लागि बन्द गरेको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ ।
प्रत्यक्षदर्शी, पसले र विस्फोटस्थल नजिकै रहेकाहरूले विस्फोटका कारण झ्यालका सिसा फुटेको र भवनहरू हल्लिएको बताएका छन् ।
दिल्ली प्रहरीका आयुक्त सतीश गोलचालका अनुसार विस्फोट हुनुभन्दा केही मिनेट अघि लाल किल्ला नजिकै ‘रेडलाइट‘ मा सुस्त गतिमा चलिरहेको गाडी रोकियो । साँझ ६:५२ बजेतिर उक्त गाडीमा विस्फोट भयो । विस्फोटका कारण नजिकैका सवारी साधनहरूमा क्षति पुग्यो ।
विस्फोटपछि आफ्नो पहिलो टिप्पणीमा केन्द्रीय गृहमन्त्री अमित शाहले आई२० कारमा विस्फोट भएको बताएका छन् । विस्फोटसम्बन्धमा सुरक्षा र अनुसन्धानका सबै निकायले जाँच गरिरहेको गृहमन्त्री शाहले उल्लेख गरेका छन् ।
‘दिल्लीको लाल किल्ला विस्फोटका पछाडि रहेकाहरूलाई कडा भन्दा कडा सजाय दिइने छ ।‘ भारतीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार कडा चेतावनी दिँदै भनेका छन् ।
