मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती- मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ५ र भीमफेदी गाउँपालिका- १ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३-००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका- २ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका- १३ घर भई हेटौँडा उपमहानगरपालिका- २ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।