लियोनेले मेसीको उत्कृष्ट प्रदर्शनपछि इन्टर मियामी इस्टर्न कन्फरेन्स कपको फाइनलमा पुगेको छ। अर्जेन्टिनी स्टार मेसीले इन्टरमियामिले सिनसिनाटी विरुद्ध ४-० को जित निकालेको खेलमा एक गोल र तीन असिस्ट गरेका थिए।
मियामीले फिलाडेल्फिया युनियन र न्युयोर्क सिटी एफसीबीचको खेलको विजेतासँग अब उपाधिका लागि खेल्ने छ। यस खेलसँगै मेसीले एमएलएस प्लेअफमा १२ गोलमा आफ्नो कीर्तिमानी योगदान दिए जहाँ उनले ६ गोल र ६ असिस्ट गरेका छन्।
गत सिजन सपोर्टर्स शिल्ड जितेको सिनसिनाटी यसपटक पनि फिलाडेल्फियापछि उत्कृष्ट लिग प्रदर्शन गर्ने टोलीका रुपमा रहेको थियो। टोलीले गत वर्षको कन्फरेन्स फाइनलमा कोलम्बस क्रूविरुद्ध हार बेहोरेको थियो।
मेसी सिनसिनाटीविरुद्ध लगातार तीन खेलमा गोलविहीन थिए। तर, सोमबार १९औं मिनेटमा मातेओ सिल्भेट्टीको छोटो क्रसमा सटिक हेड गर्दै टिमलाई सुरुवाती अग्रता दिलाउन सफल भए। उत्कृष्ट लयमा रहेका विश्वविजेता कप्तान मेसीले पछिल्ला सात खेलमा ११ गोल गरेका छन्। उनले त्यसपछि बाँकी गोलका लागि पनि आफ्नो योगदान दिए।
सिनसिनाटीले यसअघि जुलाई १६ मा घरमै मियामीलाई ३–० ले हराएको थियो। जुलाई २६ मा फोर्ट लोडरडेलमा भएको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो।
पहिलो खेलमा मेसी खेलेका थिए, तर दोस्रोमा उनी अनुपस्थित रहेका थिए।
