काठमाडौं । देशका ६ कम्युनिस्ट पार्टीहरुले संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरेका छन् । संघर्ष समितिले विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि संघर्ष अघि बढाउने सार्वजनिक गरेका छन् ।
निर्वाचन बहिष्कारको आह्वान गर्दै संयुक्त संघर्ष समितिले भोलि उपत्यका बन्दको कार्यक्रम राखेको छ। । समितिका अनुसार अत्यावश्यक सेवा बाहेक उपत्यकाका सबै क्षेत्र बन्द रहनेछन्।
बन्दको आह्वानसँगै उपत्यकाका सातवटा स्थानबाट मशाल जुलुस निकाल्ने कार्यक्रम तय गरिएको थियो। सोही क्रममा विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन भएको छ।
मशाल जुलुसको क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गर्दै विभिन्न स्थानबाट प्रदर्शनकारीहरूलाई पक्राउ गर्ने क्रममा बांगेमुढा बाट क्रान्तिकारी कम्युनिस्ट पार्टीका ९ नं. ब्यूरो इञ्चार्ज क. दिनेश शर्मा, गंगा पौडेल, रामबहादुर बुढा, मनु विक, पेशल दाहाल, राम नेपाली, मंगल तामाङलगायतलाई पक्राउ गरिएको छ।
त्यसैगरी कोटेश्वरको पेरिस चोकबाट निकालएको मशाल जुलुस कोटेश्वर चोकमा पुगेर कोणसभामा परिणत हुँदै गर्दा प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेक विक, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालकी केकस तथा विध्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष हिमांशु र सोही विद्यार्थी संगठनका केस अच्यूत कालिकोटेलाई गिरफ्तार गरिएको छ ।
त्यसैगरी प्राप्त जानकारी अनुसार कलंकी चोकमा निकालिएको मशाल जुलुसमा पनि हस्तक्षेप गरी प्रहरीले आधा दर्जन बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
