सगरमाथा चौधरी आँखा अस्पताल, लहान (सिराहा) को प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिका वडा नं. २९, हरिसिद्धिको समन्वयमा सञ्चालन गरिएको जल आँखा तथा कान उपचार केन्द्र मा अब फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया सुरु गरिएको छ। यसअघि ललितपुर महानगरपालिका वडा नं. २९, हरिसिद्धि र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहकार्यमा दुई पटक निःशुल्क आँखा तथा मोतिबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
ती शिविरहरूबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका थिए। स्थानीयस्तरमै गुणस्तरीय आँखा उपचारलाई अझ सहज बनाउन वडा नं. २९ का अध्यक्ष श्री गणेश कुमार महर्जनको पहलमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानसँग सम्झौता गरी वडामै जल आँखा तथा कान उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।
यसै उपचार सेवालाई निरन्तरता दिँदै केन्द्रमा यही माघ १५ गतेदेखि फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया सेवा सुरु गरिएको अध्यक्ष महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार यस केन्द्रमा सस्तो, सरल र सहज तरिकाबाट शल्यक्रिया सेवा उपलब्ध गराइएको छ। उक्त केन्द्रबाट वडा नं. २९ का स्थानीय बासिन्दा मात्र नभई ललितपुरका अन्य वडासहित विभिन्न स्थानबाट आएका सेवाग्राहीहरूले पनि लाभ लिन सक्ने उहाँले बताउनुभयो।
