खोला मापदण्ड खारेज गराउन भूमिका खेलेको भन्दै श्याम कृष्ण प्रजापति सम्मानित

काठमाडौँ — आदिवासी जनसमुदाय तथा स्थानीय बासिन्दाको उठिबास हुने गरी सर्वोच्च अदालतबाट गैरन्यायिक रूपमा तोकिएको थप २० मिटर खोला मापदण्ड खारेज गराउन सफल भूमिका निर्वाह गरेको योगदानको कदर गर्दै भूमि अधिकार संरक्षण समितिका अध्यक्ष श्याम कृष्ण प्रजापतिलाई सम्मान गरिएको छ।

ज्यापू महागुथिको महानगरस्थित केन्द्रीय पार्षद भेलाको अवसरमा आयोजित कार्यक्रममा महागुथिका संरक्षक एवं निवर्तमान अध्यक्ष राजभाई जकमीले प्रजापतिलाई खादा लगाएर सम्मान गरेका हुन् भने महागुथिका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोलले सम्मान पत्र प्रदान गरेका थिए।

सो अवसरमा अध्यक्ष सत्यनारायण डंगोलले ज्यापू महागुथिका युवा संयोजक समेत रहेका श्याम कृष्ण प्रजापति नेतृत्वको टोलीको संघर्षले महागुथि मात्र होइन, सम्पूर्ण नेवा: समुदाय तथा आदिवासी जनसमुदायको भूमि अधिकार कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। उनले जनसमुदायको अधिकार प्राप्तिका लागि गरिने यस्ता संघर्षमा ज्यापू महागुथि सधैँ साथ र सहयोगका लागि प्रतिबद्ध रहने वचन व्यक्त गरे।

सम्मान ग्रहण गर्दै श्याम कृष्ण प्रजापतिले महागुथिबाट प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै आम जनसमुदायको अधिकार सुनिश्चित गर्न जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरे। उनले यो सफलता सबैको साथ, सहयोग र एकताका कारण सम्भव भएको बताए।

तर, थप २० मिटर खोला मापदण्ड खारेज हुनु आंशिक सफलता मात्र भएको उल्लेख गर्दै उनले मन्त्रीपरिषद्‌ले २०६५ साल मंसिर १ गते तोकेको खोला मापदण्ड पूर्ण रूपमा खारेज नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारे। साथै, उक्त आन्दोलनमा सबै पक्षको साथ र सहयोगको लागि उनले आव्हान समेत गरे।