आचारसंहिता उल्लङ्घन गर्ने ५१ जनालाई आयोगले स्पष्टीकरण सोध्यो, ३० वटाको मात्र जवाफ प्राप्त

काठमाण्डाै – निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टकीकरण सोधेको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा अहिलेसम्म ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवम् गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो ।

दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो ।

जिल्लास्तरमा निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगले जनाएको छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको आयोगका कानून अधिकृत जोशीले बताउनुभयो ।