काठमाडौँ । ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको धरहरा–सुन्धारा क्षेत्रको सञ्चालन व्यवस्थापन अब स्थानीय सरकारको जिम्मामा जाने भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले धरहराभित्रको भूमिगत पार्किङ् सञ्चालन तथा पानी आपूर्ति र निकास व्यवस्थापनको दायित्व काठमाडौँ महानगरपालिकालाई दिने निर्णय गरेको हो।
बैठकमा सहरी विकास मन्त्री कुमार इङ्नाम, महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत उच्च अधिकारी सहभागी थिए। अवलोकनपछि बसेको बैठकले ३४७ कार र ७०० मोटरसाइकल अट्ने क्षमताको भूमिगत पार्किङ् तत्काल व्यवस्थित सञ्चालनमा ल्याउने निष्कर्ष निकालेको छ।
निःशुल्क पार्किङ् र दीर्घकालीन योजना
कार्यवाहक प्रमुख डंगोलले सुन्धारा क्षेत्रलाई नयाँ सडक लगायत व्यापारिक क्षेत्रका सवारीका लागि वैकल्पिक पार्किङ् केन्द्रका रूपमा विकास गर्ने बताइन्। “सडकमा पार्किङ् निषेध मात्र होइन, विकल्प पनि दिनुपर्छ,” उनले भनिन्, “महानगर प्रहरी परिचालन गरी सुरक्षित र व्यवस्थित निःशुल्क पार्किङ् सेवा उपलब्ध गराउँछौँ।”
बैठकले धरहरा क्षेत्रको तत्कालीन र दीर्घकालीन सञ्चालन खाका तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
गृहमन्त्री अर्यालले यस्ता संरचनाको दिगो व्यवस्थापन स्थानीय सरकारमार्फत हुनु उपयुक्त हुने धारणा राखे। मन्त्री इङ्नामले पुनर्निर्माण योजनामा नसमेटिएका तर क्षेत्रको सौन्दर्य र व्यवस्थापनसँग जोडिएका काम महानगरलाई हस्तान्तरण गर्नु व्यवहारिक कदम भएको बताए।
पुनर्निर्माणपछि नयाँ स्वरूप
२०७२ सालको भूकम्पले ढलेको धरहराको पुनर्निर्माण २०७५ पुस १२ गते भूमिपूजनसँगै सुरु भएको थियो। ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको हालको धरहरा ७९.२ मिटर अग्लो छ। बाहिरबाट ११ तला देखिए पनि भित्री संरचना २२ तलासम्म फैलिएको छ।
२० औँ तलासम्म पुग्ने दुईवटा लिफ्ट, ५४ जनासम्म अट्ने अवलोकन वार्दली, संग्रहालयको योजना, बगैंचा र ५० फिट उचाइसम्म पानी फाल्ने फोहोरा यसको नयाँ आकर्षण हुन्। भूकम्पमा भत्किएको पुरानो धरहराको अवशेषलाई शिशाभित्र सुरक्षित राखिएको छ।
इतिहास र प्रतीक
वि.सं. १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गराएको धरहरा २०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा पूर्णरूपमा ढलेको थियो, जसमा १५५ जनाले ज्यान गुमाएका थिए। यसअघि १९९० सालको महाभूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा राणाकालमा सूचना प्रवाहका लागि बिगुल बजाउने स्थलका रूपमा प्रयोग हुन्थ्यो।
मुगल र युरोपेली स्थापत्य शैली मिश्रित धरहरालाई धार्मिक सहिष्णुता र साझा सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ।
अब सञ्चालन व्यवस्थापनको जिम्मा स्थानीय तहमा आएसँगै सुन्धारा–धरहरा क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
