डिजिटल युगमा नेपालभाषाको फड्को: ‘नेवा-फिलिक्स’ मार्फत सम्पदा विश्वमाझ

काठमाडौं — नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यमबाट विश्वव्यापी दर्शकमाझ पुर्याउने लक्ष्यसहित ईलोहं इन्टरटेनमेन्टले ‘नेवा-फिलिक्स’ नामक ओटीटी प्लेटफर्म सार्वजनिक गरेको छ।

कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले प्लेटफर्म उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष डीसीले विगतका सांस्कृतिक आन्दोलनहरू सम्झँदै नेपालभाषा चलचित्रको संरक्षण र प्रवर्द्धनमा डिजिटल माध्यमको आवश्यकता औंल्याए। उनले ‘सिलु’ र ‘राजमती’ जस्ता ऐतिहासिक महत्वका चलचित्रलाई डिजिटलाइजेशन गरी नयाँ पुस्तामाझ पुर्याउनुपर्नेमा जोड दिए।

उनका अनुसार भाषा र संस्कृतिको जगेर्ना अब प्रविधिसँगै अघि बढ्नुपर्छ। ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २६ वर्षदेखि निरन्तर प्रकाशन क्षेत्रमा सक्रिय रहेको संस्थाले समयअनुसार प्रविधिमैत्री रूपान्तरण आवश्यक ठानेर ईलोहं इन्टरटेनमेन्ट स्थापना गरेको बताए। “पहिलाको प्रविधि र अहिलेको डिजिटल युगबीच ठूलो अन्तर छ। अब सामग्री उत्पादन मात्र होइन, वितरण प्रणाली पनि आधुनिक हुनुपर्छ,” उनले भने। त्यसैगरी, ईलोहं इन्टरटेनमेन्टकी अध्यक्ष प्रज्ञादेवी शाक्यले नेपालभाषाका चलचित्र, वृत्तचित्र, सांस्कृतिक कार्यक्रम र अभिलेखलाई एकै थलोमा उपलब्ध गराउने उद्देश्यले ‘नेवा-फिलिक्स’ सञ्चालनमा ल्याइएको जानकारी दिइन्।

उनका अनुसार प्लेटफर्मले स्वदेश मात्र नभई विदेशमा रहेका नेपालभाषी समुदायलाई समेत लक्षित गर्नेछ। नेवा-फिलिक्सलाई नेपालभाषा सामग्री प्रवर्द्धनको प्रभावकारी डिजिटल माध्यमका रूपमा हेरिएको छ। भाषा र सांस्कृतिक पहिचानको संरक्षणसँगै नयाँ पुस्तालाई जोड्ने पुलका रूपमा यस प्लेटफर्मले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।