काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरूमा तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निर्वाचन प्रहरीको सहायतामा बुथ निर्माणको काम भइरहेको छ।
महिला, पुरुष तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै बुथको व्यवस्था मिलाइएको छ। भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य सञ्चालन हुने छ।
यसैबीच, गृह मन्त्रालय ले फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सुरक्षा व्यवस्थालगायत विषयमा समीक्षा गरिएको हो।
मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यका अनुसार सबै जिल्लाबाट निर्वाचनको तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ।
राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन निर्देशन दिएको छ। सबै जिल्लामा सुरक्षा संयन्त्र परिचालन भइसकेको र निर्वाचन सामग्री मतदान स्थलमा पुगिसकेको मन्त्रालयले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउन सम्बन्धित निकायले मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।
