काठमाण्डाै – भाेलि बिहीवार फागुन २१ गते प्रतिनिधिसभा सदस्यकाे चुनावकाे हुँदैछ । भाेलि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने योजना बनाएको छ ।
मतदाता
फागुन २१ गतेको चुनावका लागि योग्य मतदाता सङ्ख्या १ करोड ८९ लाख ३ हजार ६८९ जना रहेको निर्वाचन आयोगले जनाएको छ । यो सङ्ख्या २०७९ सालमा भएको चुनावमा भएका मतदाताको सङ्ख्याभन्दा ९ लाख १५ हजार ११९ जनाले धेरै हो । यस पटक ९६ लाख ६३ हजार ३५८ जना पुरुष, ९२ लाख ४० हजार १३१ जना महिला र २०० जना अन्य मतदाता रहेका छन् ।
उम्मेदवार
निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फ ३ हजार ४०६ जना उम्मेदवार रहेकोमा १ जनाको उम्मेदवारी खारेज भएको छ । ती उम्मेदवारमध्ये पुरुष ३ हजार १६ जना, महिला ३८८ जना तथा १ जना अन्य छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ३ हजार १३५ उम्मेदवार अन्तिम सूचीमा कायम भएका छन् । तीमध्ये बन्दसूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार छन् । देशभरि १ हजार १४३ स्वतन्त्र उम्मेदवार यस पटक चुनावी प्रतिस्पर्धामा छन् ।
सहभागी दल
प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फ ५७ र प्रत्यक्षतर्फ ६६ दल एवम् स्वतन्त्र उम्मेदवार सहभागी छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले मात्र सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । ८ वटा दलले १–१ निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार उठाएका छन् ।
मतदान केन्द्र
देशभर कुल १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । नेपाल प्रहरीले चुनावका लागि ४ हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र ३ हजार ६८० वटालाई अतिसंवेदनशील मानेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।
