कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

जेनजी आन्दोलनमा सक्रिय रूपमा देखिएकी रक्षा बमसहितका अभियन्ताहरूले आइतबार माइतीघरमा भेला भई आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले विभिन्न घटनाको छानबिनका लागि राज्यले आयोग बनाउने तर त्यसका प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाएका थिए।

प्रदर्शनकारीहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा तयार भएका प्रतिवेदन गोप्य राख्नु लोकतान्त्रिक मूल्य र पारदर्शिताविपरीत भएको बताएका छन्। उनीहरूले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे सत्य तथ्य सार्वजनिक हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने मागसमेत गरेका छन्।

गत भदौमा भएको आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

तर प्रतिवेदन सार्वजनिक नभएकाले त्यसबारे विभिन्न तहबाट प्रश्न उठ्दै आएको छ।